दफा २६
सञ्चालकको पदमा नियुक्ति हुन वा बहाल रहन अयोग्यता
(१) देहायको कुनै व्यक्ति सञ्चालक को पदमा मनोनीत वा निर्वाचित हुन सक्ने छैनः– (क) २१ वर्ष उमेर नपुगेको, (ख) मगज बिग्रेको वा बहुलाएको, (ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको, (घ) कुनै प्रकारको चोरी वा ठगी गरेको वा आफनो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, (ङ) कोषको कुनै ठेक्कापट्टा वा करारमा कुनै प्रकारको निजी स्वार्थ भएको, वा (च) कुनै बैङ्क वा वित्तीय संस्थाका सञ्चालकको पदमा बहाल रहेको, (छ) धितोपत्र बजारको सदस्य वा प्रतिनिधिको रुपमा बहाल रहेको व्यक्ति वा संस्था । (२) देहायको अवस्थामा कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहने छैनः– (क) उपदफा (१) मा लेखिएबमोजिम सञ्चालकको पदमा मनोनीत वा निर्वाचित हुन नसक्ने अवस्था भएमा, (ख) उचित कारण खोली समितिलाई जनाउ नदिई लगातार तीन पटक सो समितिको बैठकमा अनुपस्थित भएमा, (ग) समिति वा समितिको निर्णय बिरुद्ध कुनै काम गरेमा, (घ) निजले आफ्नोे पदबाट दिएको राजीनामा स्वीकृत भएमा, (ङ) कोषको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा, वा (च) यस ऐन बमोजिम सजाय हुने कुनै कसूर गरेमा । (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि,– (क) सरकारी चिकित्सकद्वारा प्रमाणित नभएसम्म कुनै व्यक्तिका सम्बन्धमा उपदफा (१) को खण्ड (क) र (ख) मा लेखिएको अयोग्यता लागू हुने छैन । (ख) नेपाल सरकारको स्वीकृति प्राप्त भएमा उपदफा (१) को खण्ड (ङ) मा लेखिएको कुनै व्यक्ति सञ्चालकको पदमा मनोनीत हुन र बहाल रहन सक्नेछ । (ग) कुनै व्यक्तिलाई सञ्चालकको पदमा मनोनीत वा निर्वाचित हुन वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अघि निजलाई आफनोे सफाइको सबूद पेश गर्ने उचित मौका दिइनेछ ।